जापनको टोक्योमा जारी ओलम्पिकको पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्दै छन् । ब्राजिल र स्पेनबीचको स्वर्णको भीडन्त आज साँझ ५ः१५ बजे हुनेछ।
ब्राजिल मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ले हराउँदै फाइनल पुगेको हो भने फाइनल पुग्ने क्रममा स्पेनले आयोजक जापानको चुनौति १–०ले पन्छायो।
ब्राजिल र स्पेन दुवै ओलम्पिक फुटबलमा दोस्रो स्वर्णको खोजिमा छन्। स्पेनले सन् १९७०मा पोल्यान्डलाई हराउँदै स्वर्ण जितेको थियो भने ब्राजिलले घरमै आयोजनाका भएको अघिल्लो संस्करणमा जर्मनीलाई हराउँदै पहिलो स्वर्ण जितेको थियो।
ओलम्पिक फुटबलको फाइनल यात्राका क्रममा दुवै टिमले उत्कृष्ट फुबटल खेलेका छन्। फाइनल यात्रामा क्रममा ब्राजिलले समूह चरणमा जर्मनीलाई ४–२ले, आइभोरी कोस्टसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै समूहको अन्तिम खेलमा उसले साउदी अरेबियालाई ३–१ले हराएको थियो। यस्तै उसले क्वार्टरफाइनलमा इजिप्टलाई १–०ले हराएको थियो।
यसैगरी स्पेनले समूह चरणको पहिलो खेलमा इजिप्टसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियालाई १–०ले हराउँदै अन्तिम खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो। उसले क्वार्टरफाइलनमा आइभोरी कोस्टलाई अतिरिक्त समयमा ५–२ले हराएको थियो।
आज हुने फाइलनमा ब्राजिलको खेल कप्तान ड्यानी अल्भेस, स्ट्राइकर रिचार्लिसन, मिडफिल्डर डग्लस लुइस र डिफेन्डर डिएगो कार्लोसमा निर्भर रहेन छ। यता, स्पेनको टिम भने स्टार खेलाडीले भरिएको छ । उसको टिमका युरोकप खेलेका अधिकांश खेलाडी छन् । उसको टिममा ड्यानी ओल्मो, मिकेल ओयासोबल, पाओ टोरेस, इसिरक गार्सिया, मार्को असेन्सियो, उनाइ सिमोनसँगै पेड्री पनि छन्।