बहराइनलाई हराउँदै ओमान टि–२० विश्वकपमा

3 Nov, 2023

ओमान आमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपमा छनोट भएको छ। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको छनोटको सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनोट भएको हो।

८ टिम सहभागी विश्वकपको एसिया छनोटमा फाइनल पुग्ने दुई टिम विश्वकपमा छनोट हुने छन्। अर्को टिम नेपाल या युएईमध्ये एक हुनेछ।

पहिला ब्याटिङ गर्दैै बहराइनले दिएको १०७ रनको सामान्य लक्ष्य ओमानले १४.१ ओभरमा विनाक्षति भेट्टायो। उसका लागि कश्यप प्रजापतिले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए भने प्रतिक अथवालेले ४१ बलमा ४ चौका र २ छक्का मद्दतमा ४८ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ९ विकेटको क्षतिमा १०६ रन बनायो। उसका लागि इमरान अलीले ३० रन बनाउँदा अहमर बिन निसरले २६ र सर्फराज अलीले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बहराइनले सस्तैमा समेट्ने क्रममा अकिब इलियासले घातक बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित १० रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, सकिल अहमदले २ विकेट लिए।