एट्लेटिकोलाई पछ्याउँदै बार्सिलोना

स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ओसासुनालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–० गोलले पराजित गरेको हो।

घरेलु टिम ओसासुनाविरुद्ध बार्सिलोनाले सहज जित निकाल्ने क्रममा जोर्डी अल्बा र लेक्स मोरिबाले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।

खेलको ३० औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए। ८३ औं मिनेटमा मोरिबाले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए।

अर्को खेलमा भने सेभिया इल्चेसँग २–१ गोलअन्तरले स्तब्ध बनेको छ। त्यस्तै, भ्यालेन्सियाले भिल्लारियलाई २–१ गोलले पराजित गर्दा काडिजले इबारलाई १–० ले हराएको छ। भालाडोलिडले गेटाफेलाई २–१ गोलले पराजित गरेको छ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग दुई अंकमा अंक दूरी घटाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ। पराजित ओसासुनाको भने २६ खेलबाट २८ अंक छ।

शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २४ खेलबाट ५८ अंक छ। साविक विजेता रियल मड्रिड भने २५ खेलबाट ५३ अंक बनाउँदै लिगको तेस्रो स्थानमा छ।