मिनि विश्वकपका रुपमा परिचित च्याम्यिन्स ट्रफीको नयाँ संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ। आईसिसीको यो निर्णयसँगै लामो समयपछि पाकिस्तानमा आईसिसीको प्रतियोगिता आयोजना हुन लागेको हो। पाकिस्तान च्याम्पियन्स ट्रफीका डिफेन्डिङ च्याम्पियन पनि हो।
३ मार्च २००९ मा लाहोरको गद्दाफी स्टेडियम नजिकै श्रीलंकाली क्रिकेट टोलीको बसमा भएको आतंककारीपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु भएको छैन। पछिल्ला २ वर्षमा केही सिरिज भएपनि निर्धक्कका साथ टिमहरु पाकिस्तान पुग्न सकेका छैनन्। सो अतंककारी हमलापछि सन् २०१९मा श्रीलंकाले नै पाकिस्तानको पहिलो भ्रमण गरेको थियो।
च्याम्पियन्स ट्रफीमा पाकिस्तानमा आयोजना हुने भएपछि भारत प्रतियोगिता खेल्न पाकिस्तान जान्छ कि जाँदैन भन्ने विषय चासोका साथ हेरिएको छ। सन् २०२५ को च्याम्पियन्स ट्रफी आयोजना गर्ने अधिकार पाकिस्तानले पाएपछि भारतीय खेलकुदमन्त्री अनुराग ठाकुरले सरकारले त्यसबेला पाकिस्तानको सुरक्षा अवस्थाको अनुगमन गर्ने बताए।
च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोली पाकिस्तान जाने वा नजाने भन्ने प्रश्नमा खेलकुदमन्त्री ठाकुरले यस विषयमा गृह मन्त्रालयको निर्णयमा संलग्न हुने बताए। उनले समय आएपछि सरकारले परिस्थिति हेरेर निर्णय गर्ने बताए। यसैबीच, बीसीसीआईका एक अधिकारीले यस विषयमा केही भन्न हतार नभएको बताए।
च्याम्पियन्स ट्रफी सन् १९९६ आईसीसी एकदिवसीय विश्वकपपछि पाकिस्तानमा आयोजना हुने पहिलो आईसीसी प्रतियोगिता हो। भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण सन् २०१२ यता कुनै पनि द्विपक्षीय क्रिकेट शृंखला खेलिएको छैन। भारतले सन् २००५–०६ यता पाकिस्तानको भ्रमण गरेको छैन।
पाकिस्तानले पछिल्लो पटक २०१२ मा एकदिवसीय र टि–२० सिरिजका लागि भारत भ्रमण गरेको थियो।
यसैगरी सन् २०२३ मा एसिया कप आयोजनाका जिम्मा पनि पाकिस्तानले पाएको छ । च्याम्पियन्स ट्रफी पाकिस्तानलाई दिएपछि अन्तिम भारतले त्यो प्रतियोगितामा कसरी भाग लिने भन्ने प्रश्न उठिरहेको छ।