कोरोना महामारीपछिको पहिलो टुरका लागि इंग्ल्यान्ड भ्रमणका तयारीमा रहेका पाकिस्तानी खेलाडीका कोरोना भाइरसका संक्रमण देखिएको छ । इंग्ल्यान्ड भ्रमणमा निस्कनुअघि गरिएको परीक्षणमा तीन खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
अलराउन्डर शादब खान, फास्ट बलर ह्यारिस रउफ र ब्याट्सम्यान हैदर अली छन् । उनीहरु तीनै जनालाई सेल्फ आइसोलेसनम राखिएको बताइएको छ ।
कोरोनाका केही लक्ष्यण देखिएपछि शादब, रउफ, अलीसहित इमद वासिम र उस्मान सिनवारीको राउलपिण्डीमा आइतबार कोरोना परीक्षण गरिएको थियो । वासिम र सिनवारीका रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यसैगरी अलराउन्डर सोयब मल्लिक र बलिङ प्रशिक्षक वाकर युनुुसले सोमबार कराँचीमा कोरोना परीक्षण गरेका छन् । यस्तै अन्य खेलाडी तथा कोचिङक स्टाफहरुको पेसावर र लाहोरमा परीक्षण गरिएको छ । सबैको रिपोर्ट मंगलबार आउने बताइएको छ ।
पाकिस्तानी टिम जुन २८मा इंग्ल्यान्ड भ्रमण गर्दै छ । इंग्ल्यान्डमा पाकिस्तानले ३ खेलको टेस्ट र टि–२० सिरिज खेल्ने छ । टेस्ट जुलाई ३० बाट सुरु हुने भने टि–२० सिरिज २९ अगस्टबाट सुरु हुने छ ।