बाबर आजमको शतकमा पाकिस्तान विजयी, न्युजिल्यान्डको पहिलो हार

इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकप २०१९ को ३३औं खेलमा पाकिस्तान न्युजिल्यान्डविरुद्ध आत्मविश्वासी जित निकाल्न सफल भएको छ । न्युजिल्यान्डले दिएको २३७ रनको लक्ष्य केबल ४ विकेट गुमाउँदै पाकिस्तानले पूरा गरेको थियो ।

ओपनरद्वय इमाम उल हक र फखर जमान क्रमश: २९ बलमा १९ रन तथा १० बलमा ९ रन बनाएर आउट भएपछि पाकिस्तानको इनिङ सुरुमा धर्मराएको थियो । तर, हरिस सोहेल र बाबर आजमले १२६ रनको साझेदारी गरेपछि पाकिस्तानको जित सम्भव भयो ।

जारी विश्वकपमा पाकिस्तानका लागि पहिलो शतक बनाउने क्रममा बाबरले १२७ बल खेल्दै नटआउट १०१ रन जोडे । संयमित भएर ब्याटिङ गरेका बाबरले ११ चौका प्रहार गरेका थिए । यस्तै, ५ चौका र २ छक्का प्रहार गरेका सोहेल ७६ बलमा ६८ रन बनाउँदा मार्टिन गुप्टिलद्वारा रनआउट भएका थिए ।

सोहेल क्रिजमा आउनु अघि मोहम्मद हाफिजले ५० बलमा ३२ रन बनाउँदै पाकिस्तानको इनिङलाई सम्हालेका थिए । जितका लागि १ रन आवश्यक परेको समयमा चौका प्रहार गरेका कप्तान सरफराज अहमदले ३ बलमा नटआउट ५ रन जोडे ।

२३७ रनको न्यून लक्ष्यको खेललाई अन्तिम ओभरसम्म धकेल्न न्युजिल्यान्डका बलरले उत्कृष्ट लाइन र लेन्थमा बलिङ गरे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ४८ रन दिँदै १ विकेट लिएका थिए ।

कप्तान केन विलियमसन ८ ओभर बलिङ गर्दै ३९ रन दिएर १ विकेट लिए भने लकि फर्गुसनले ८.१ ओभरमा २६ रन दिँदा १ विकेट लिन सफल भए । पाकिस्तानलाई जितका लागि ५०औं ओभरसम्म प्रतीक्षा गराउन किफायती बलिङ गरेका मिचेल सान्टनरले १० ओभरमा केबल ३८ रन दिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डलाई आफ्नै निर्णय घातक भयो । पाकिस्तानका बलरले उत्कृष्ट बलिङ गरेपछि न्युजिल्यान्डको ओपनिङ ध्वस्त भएको थियो । सुरुवाती ब्याट्सम्यानमध्ये कप्तान विलियमसन बाहेक कसैले आशातित रन जोड्न सकेनन् । 

ओपनर मार्टिन गुप्टिल ४ बलमा ५ रन जोड्दै दोस्रो ओभरमै पभेलियन फर्किएका थिए भने अर्का ओपनर कोलिन मुनरोले १७ बलमा १२ रनमात्र जोड्न सके । ६९ बलमा ४१ रन जोडेका विलियमसनले न्युजिल्यान्डको इनिङ सम्हाल्ने कोसिस गरेपनी अर्को इन्डबाट लगातार विकेट झरेपछी उनको केही लागेन ।

रोस टेलर ८ बलमा १ रन तथा टम लाथम १४ बलमा १ रन जोड्दै आउट भएपछि न्युजिल्यान्डको इनिङ धराशायी भएको थियो । न्युजिल्यान्ड त्यसबेला २७ ओभरमा ५ विकेट गुमाउँदै ८३ रनमात्र जोडेर दयनिय अवस्थामा संघर्षशील थियो ।

न्युजिल्यान्डलाई सम्मानजनक स्कोरसम्म डोहोर्‍याउने क्रममा कोलिन डे ग्रान्डहोम र जेम्स नीशामले १३२ रनको पार्टनरशीप गरेका थिए । नीशामले ११२ बलमा नटआउट ९७ रन जोडे भने रनआउट हुनुअघि ग्रान्डहोमले ७१ बलमा ६४ रनको योगदान गरे ।

सान्टनर ५ बलमा ५ रन जोड्दै नटआउट रहेपछि निर्धारित ५० ओभरमा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै २३७ रन जोडेको थियो ।

जितसँगै ७ खेलमा ७ अंकका साथ ५औं स्थानमा उक्लिएको पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना जिवित राखेको छ । यता, ७ खेलमा ११ अंक बनाएको न्युजिल्यान्ड दोस्रो स्थानमा यथावत रह्यो । समूहचरणका २ खेल बाँकी छँदै सेमिफाइनल प्रवेश गरिसकेको अष्ट्रेलियासँगै आफ्नो पनि स्थान सुरक्षित गर्न न्युजिल्यान्डलाई बाँकी २ खेलमा १ अंक पर्याप्त हुनेछ ।

तर, जितका बावजुद पाकिस्तानको सेमिफाइनल प्रवेश उत्ति सहज भने छैन । त्यसका लागि उसले आफ्ना बाँकी सबै खेल जित्नुपर्ने छ भने श्रीलंका, बंगलादेश र इंग्ल्यान्डले आफ्ना बाँकी खेलमध्ये १ खेल हार्नु पर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.