नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्काले सुनसरी सदरमुकाम इनरुवामा आयोजना हुन लागेको मनमोहन मेमोरियल कप एकदिवसीय प्रतियोगिता (एमएम) नखेल्ने भएका छन् । ज्ञानेन्द्र र पारस दुवैले घरायसी कारण देखाउँदै एमएम कप नखेल्ने भएका हुन् ।
पारस र ज्ञानेन्द्रले घरायसी करणले प्रतियोगिता खेल्न नसक्ने भन्दै प्रदेश ३ क्रिकेट संघ पत्र पठाएपछि संघले दुवै जनालाई बाहिर राख्दै प्रतियोगिताको लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ । १२ टिम सहभागी एमएम कप पुस १५ बाट सुरुभइ माघ ४ गतेसम्म चल्ने छ ।
प्रदेश ३ ले सुवास खकुरेलको कप्तानीमा एमएम कप खेल्ने छ । प्रतियोगिताका लागि घोषणा गरिएको टिममा सुवाससँगै इशान पाण्डे, आदील खान, रित गौतम, नन्दन यादव, सोनु तामाङ रहेका छन् ।
यस्तै, रामनरेश गिरि, प्रतिष जिसी, तिलक भण्डारी, जितेन्द्रसिंह ठकुरी, संघर्ष पौडेल, गौतम केसी, अभिषेक बस्नेत, राजेश रिमालले पनि प्रदेश ३ को टिममा स्थान बनाएका छन् । भुपेन्द्र थापा, रिजन ढकाल, सुवर्ण भट्ट, प्रशान्त महत, प्रदिप परियार र उत्सव श्रेष्ठ वैकल्पिक खेलाडीमा छन् ।
यसैबीच एमएम कपका लागि प्रदेश ३ को खेलाडी छनोटमा प्रदेश क्रिकेट संघले मनोमानी गरेको काठमाडौं जिल्ला क्रिकेट संघले आरोप लगाएको छ । प्रदशेको टिम छनोटमा लागि प्रदेश संघले आफूहरुलाई जानकारी नै नदिएको जिल्ला क्रिकेट संघ काठमाठौंका अध्यक्ष अमीरवीर पाण्डेले बताए ।
उनले प्रदेश संघले मौखिक रुपमा भने ३ जना खेलाडी पठाउन भनेको उनले जनाए । छनोट नै नगरी हचुवाका भरमा खेलाडी पठाउन नसकिने भएका आफूहरुले खेलाडी नपठाएको पाण्डेको भनाई छ ।
यता, प्रदेश ३ क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले खेलिरहेका खेलाडीलाई प्राथमिकता दिँदै तीन दिने क्याम्प राखेले खेलाडी छनोट गरिएको बताए । उनले समय छोटो भएकाले जिल्लाबाट खेलाडी ल्याएर टिम छनोट गर्न नसकिएको बताए ।