दुबईस्थित आइसिसी एकेडेमी मैदानमा भएको युएईविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालका लागि पहिलो एकदिवसीय शतक प्रहार गरेका कप्तान पारस खड्का ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।
पहिलो खेलमा ब्याटिङ नचलेपछि नेपाल ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले १४५ रनको प्रभावशाली जित हात पार्न सफल भएको थियो ।
तेस्रो खेलमा २५५ रनको लक्ष्य लिएर मैदान ओर्लेको नेपालका लागि पारसले कप्तानी इनिङ खेल्दै १०९ बलमा ११५ रन बनाए । पारसको यो शतक उनको व्यक्तिगत रुपमामात्र नभएर एकदिवसीयमा सिंगो नेपाली टिमकै पहिलो शतक हो । १५ चौका र १ छक्का प्रहार गर्दै नेपालको जितमा मुख्य योगदान गरेका पारस ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।
पारस सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । ३ खेलमा ८८.६३ को स्ट्राइक रेटमा एक शतकसहित १५६ रन बनाएका पारसलाई ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए । साथै, पारसले ३ खेलमा २१ ओभर बलिङ गर्दै ३.८५ को इकोनोमिमा ८१ रन दिएर ४ विकेट पनि लिएका थिए ।
पारसपछि सर्वाधिक रन बनाउनेमा क्रमशः युएईका सइमन अनवर (९८), नेपालका आरिफ शेख (७५), ज्ञानेन्द्र मल्ल (७५) र रोहित पौडेल (७१) रहेका छन् ।
यस्तै, नेपालका सोमपाल कामी र सन्दीप लामिछाने तथा यएईका इमरान हैदर समान ७–७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बने ।
दोस्रो खेलमा अर्धशतकिय इनिङ खेल्दै नेपालको फराकिलो जितमा प्रेरणादायी प्रदर्शन गरेका रोहितले क्रिकेटका कुनैपनि फर्म्याटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने सचिन तेन्दुलकरको रेकर्ड पनि तोडेका थिए । सिरिजको दोस्रो खेलमा अर्धशतक बनाउँदा रोहितको उमेर १६ वर्ष १४६ दिन थियो ।
यसैगरी, दोस्रो खेलमै सोमपाल कामीले युएईका ५ ब्याट्सम्यानलाई पभेलियन फर्काउँदै नेपालका लागि एकदिवसीयको एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी बने ।