डेढ दशक नेपाली राष्ट्रिय टिममा बिताएका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
३२ वर्षीय मल्लले शुक्रबार अर्थात् साउन १९ गते पत्रकारसम्मेलन गर्दै नेपालीबाट टाढा हुने घोषणा गरे। उनले अब नयाँ यात्राको सुरुआत गर्ने पनि बताए।
ज्ञानेन्द्रले आकस्मिक रुपमा गरेको सन्न्यासको घोषणाले धेरै क्रिकेटप्रेमीलाई आश्चर्यमा त पारेको छ नै उनीको मनमा एउटा कौतुहलता पनि जन्माएको छ। त्यो हो सन्न्यासका लागि ज्ञानेन्द्रले साउन १९ नै किन रोजे?

२ वर्षअघि आजैका दिन (२०७८, साउन १९) पूर्वकप्तान पारस खड्काले सन्न्यासको घोषणा गरेका थिए। ज्ञानेन्द्रले पनि सन्न्यासका लागि साउन १९ नै रोजे, त्यो किन ? समर्थकमा कौतुहलता आउनु स्वभाविक हो।
पारस र ज्ञानेन्द्र मैदानभित्र र बाहिर दुवैका राम्रा साथी हुन्। यी दुईले डेढ दशकबढी राष्ट्रिय टिममा सँगै बिताए। पारसले १० वर्ष नेपाली राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानका रुपमा उनलाई साथ थिए।
दुवैले एक अर्काको कप्तानीमा राष्ट्रिय टिममा खेलेका छन्। पारसको कप्तानीमा ज्ञानेन्द्रले एक दशक खेल्दा ज्ञानेन्द्रको कप्तानीमा पारसले २ वर्ष खेले। २०७६ असोजमा पारसले कप्तानी छाडेपछि ज्ञानन्द्रले कप्तानीको जिम्मेवारी पाएका थिए।
ज्ञानेन्द्रले सन्न्यासका लागि साउन १९ नै रोज्नुको कारण पारससँगको मित्रता र आत्मियता प्रमुख कारण हुनुसक्छ । अन्य, कारणहरु भने विस्तारै बाहिर आउलान ।

सन्न्यास लिएको २ वर्ष पुगेका पारस अहिले नेपाल क्रिकेट संघमा आउने तयारीमा छन्। उनले क्रिकेटमा आउन लागेको बताइसकेका छन्, तर कुन पोजिशनमा हो त्यो खुलाएका थिए। चर्चा अनुसार बागमति प्रदेश अध्यक्षमा उठ्ने तयारीमा छन्, केन्द्रको विषयमा त्यसपछि निर्णय लिने पारसको तयारी छ।
सन्न्यास लिएका ज्ञानेन्द्र पारसकै पदचाप पछ्याउँदै क्यानमा आए भने त्यो आश्चर्यको विषय हुनेछैन। तर, ज्ञानेन्द्रले त्यसका लागि अर्को अधिवेशनसम्म भने कर्नुपर्ने हुन्छ।