रामोसको डेब्यू खेलमा पिएसजीको जित, मेसीको ह्याट्रिक असिस्ट

भेट्रान डिफेन्डर सर्जियो रामोसको डेब्यू खेलमा पिएसजी विजयी भएको छ। आइतबार साँझ अवे मैदानमा भएको खेलमा पीएसजीले सेन्ट इटिनेलाई १–३ गोलले पराजित गर्यो। पीएसजीको जितमा मार्किन्योसले २ र डि मारियाले एक गोल गरे।

पीएसजीका तीन वटै गोलमा लियोनल मेस्सीले असिस्ट गरेका थिए। खेलको छैटौं मिनेटमा नेयमारले गोल गरेका थिए। तर, भिएआर परिक्षण पछि रेफ्रीले उक्त गोल अफसाइड दिए। खेलको २३ औं मिनेटमा सेन्ट इटिनेका डेनिस बोउन्गाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औं मिनेटमा कोलोले रातो कार्ड पाएपछि सेन्ट इटिने १० खेलाडीमा सिमित बनेको थियो।

पहिलो हाफको इन्जुरी समयमा मेस्सीको पासमा मार्किन्हाेस गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७९औं मिनेटमा मेसीकै पासमा डि मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।

खेलको इन्जुरी टाइममा मार्किन्हाेस मेसीको पासमा व्यक्तित दोस्रो गोल गर्दा पीएसजी १–३ गोलले विजयी भयो। यही खेलमा चालू सिजनको सुरुवातमा रियल मड्रिडबाट आएका भेट्रान डिफेन्डर सर्जियो रामोसले डेब्यू गरेका थिए।

जितसँगै १५ खेलबाट ४० अंक जोडेको पीएसजी अंक तालिको शीर्ष स्थानमा छ। पीएसजी दोस्रो स्थानको नाइस भन्दा १४ अंकले अघि छ। समान खेलबाट नाइसले २६ अंक जोडेको छ। पराजित सेन्ट इटिने १२ अंक जोडेर अंक तालिकाको पुछारमा छ।