कोरोना संक्रमण देखिएपछि फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले युइएफए नेसन्स लिगको गुमाउने भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका पोग्बालाई कोरोना संक्रमण भएको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पुष्टी गरेका छन् ।
कोरोना संक्रमण देखिएपछि डेसच्याम्पले पोग्बालाई बाहिर राख्दै युइएफए नेसन्स लिगका लागि २४ सदस्यीय फ्रेन्च टिमको घोषणा गरेका छन् । फ्रान्सले नेसन्स लिग अन्तर्गत पहिलो खेलमा आउने सेप्टेम्बर ५ मा स्वीडेन र सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।
पोग्बा हाल इंग्ल्याण्डमै छन् र उनी शनिबार आफ्नी गर्भवती श्रीमतीसँग लण्डनमा एक रेस्टुराँमा देखिएका थिए । पोग्बाको स्थानमा युवा खेलाडी एडवार्डो कामाभिंगालाई टिममा राखिएको छ ।
डेसच्याम्पले भनेका छन्, ‘अन्तिम मिनेटमा टोलीमा परिवर्तन गर्नुपर्यो । पोग्बालाई टोलीमा समेटिएको थियो, तर उनले हिजो गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको छ । उनको स्थानमा कामाभिंगाले टिमा स्थान बनाएका छन् ।’
यस्तै फ्रान्सका अर्का खेलाडी टान्गुइ एन्डोम्बेलेलाई पनि कोरोना संक्रमण भएको छ र उनी फ्रान्सको टिमबाट बाहिरिएका छन् । कोरोना देखिएपछि दुवै खेलाडी १४ दिनको सेल्फ आइसोलेसनमा रहेका छन् ।
पोग्बाले म्यानचेष्टर युनाइटेडको प्रिसिजन तयारी पनि गुमाउने भएका छन् ।