सन् २००२ को डिसेम्बर ७ । नेपाल र सिंगापुरले दुबई क्रिकेट काउन्सिल मैदान–२ मा एसीसी यू–१५ एसिया कपमा प्रतिस्पर्धा गरिरहेका थिए । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडीहरू पारस खड्का, शरद भेषावकरको मात्र नभई त्यो पवन दासको पनि पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।
पारस आफ्नो पहिलो खेलमै अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याचमा चुनिएका थिए । उनले ३ विकेट लिनुका साथै अविजित १९ रन बनाएका थिए । शरदले २३ रन जोडेका थिए । ओपनर पवनले त्यही खेलमा अविजित ३० रन जोडेर विजयी इनिङ्स खेल्दै त्यसलाई स्मरणीय बनाएका थिए ।
पारस र शरदको खेलाडी जीवन यात्रा अझै निरन्तर छ । पवनले त्यसको अर्को वर्ष पारस र शरदसँगै भारतमा यू–१७ एसिया कपमा पनि खेले । त्यसपछि एकैपटक सन् २००८ मा भारतमै सीसीएफसी ट्वान्टी–२० कपमा नेपाली राष्ट्रिय टोलीबाट खेलेपछि खासै मैदानमा देखिएनन् ।
यिनै राजविराज–५ का क्रिकेटर पवन दास बिहीबार साँझ कोरोना भाइरसको संक्रमणलाई परास्त गर्न सफल भएका छन् । साउन २४ गते कोरोना संक्रमण पुष्टि भएका पवनको घरमा श्रीमतीबाहेक सबै सदस्यलाई संक्रमण भएको थियो । सुरुआतमा त्रसित भए पनि घरेलु उपचारबाटै कोरोनालाई ‘क्लिन बोल्ड’ गर्न सफल भएको उनको अनुभव छ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छोटो र मीठो छाप छोडेका पवनले आफ्नो जीवनमा आएको कोरोनाको इनिङ्स पनि सहजै पराजित गर्न भ्याए ।

साउन १४ गते समृद्धि परियोजनाको बैठकमा भाग लिन महोत्तरीको बर्दिवास पुगेका त्यसको भोलिपल्ट घर फर्केका थिए । उक्त बैठकमै सहभागी रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको खबर आयो । उनलाई पनि टाउको दुख्ने र ज्वरो आउन थालेपछि आमाबुबासहित साउन २३ गते पीसीआर परीक्षणका लागि स्वाब दिए ।
साउन २४ को साँझ आमाबुबासहित पवनमा पनि कोरोना संक्रमणको खबर आयो । खबर आएपछि केहीबेर त्रसित भएको उनी सुनाउँछन् । ‘मलाई र बुबाआमालाई पनि हल्का ज्वरो थियो । संक्रमण पुष्टि भएको खबरले त्रसित भयौं,’ पवनले कान्तिपुरसँग भने । त्यसपछि पवनले श्रीमती, ६ वर्षीया छोरी र डेढ वर्षीय छोराको स्वाब दिन लगाए ।
श्रीमतीको रिपोर्ट नेगेटिभ आए पनि छोराछोरी दुवैमा संक्रमण पुष्टि भयो । ‘त्यसपछि हामी एक दुई दिन त झनै अतालियौं,’ पवनले त्यो क्षणबारे सुनाए, ‘तर दुई दिनपछि हामीभित्रको डर हरायो, घरेलु उपचारमै ध्यान दिन थाल्यौं, त्यसले हामीमा सुधार हुँदै गयो ।’
संक्रमण पुष्टि भएपछि दास परिवार घरमै आइसोलेसन बसे । ‘तातोपानी खाने, कागती पानी र काढा नियमित खान सुरु गर्यौं,’ पवनले भने, ‘खानामा दालभात, तरकारी खान्थ्यौं । मह, च्यवनप्राश, स्याउ र पिस्ताबदाम खायौं ।’
औषधीको नाममा ज्वरो आएका बेला सिटामोल र भिटामिन ‘सी’ को ट्याबलेटबाहेक केही नखाएको उनले बताए । बिहीबार उनको परिवार सबैको रिपोर्ट नेगेटिभ आएको हो । ‘मेरो विचारमा हल्ला भएजस्तो कोरोना भाइरस होइन, सामान्य रूपमा घरेलु उपचारबाटै यसलाई परास्त गर्न सकिन्छ,’ पवनले भने, ‘कोरोना कोरोना भन्दै त्रास बढी फैलाउने काम भयो, यो महामारीभन्दा पनि सचेततापूर्वक यसविरुद्ध लड्न उपयुक्त हुन्छ ।’
आवश्यकताभन्दा बढी कोरोना कोरोना प्रचार भएकाले संक्रमितको मनमा डरत्रास उत्पन्न भएको पवनले बुझाइ छ । ‘आफूलाई संक्रमण भएसँगै साना छोराछोरीलाई समेत संक्रमण पुष्टि भएपछि मेरै कारण सबैलाई संक्रमण सर्यो भन्ने भयो । यो कुराले भने मलाई पीडा भयो,’ पवनले अनुभव सुनाए ।
अहिले पूरै परिवार संक्रमणमुक्त भएपछि उनी खुसी छन् । ‘कोरोनालाई भयावह नबनाऔं, घरायसी उपचारले यसलाई परास्त गरौं तथा अनावश्यक त्रास नफैलाऔं,’ पवनको सुझाव छ । कोरोना संक्रमित भएका बेला साथीहरूबाट पाएको सहयोग आफ्नो जीवनका लागि सदैव अविस्मरणीय रहने उनले सुनाए । ‘केहीले फोन गर्दा पनि सर्छ कि भनेर फोनमै त्रसित देखिन्थे तर त्यसको तुलनामा आत्मबल बढाउने साथीहरू कयौं गुणा बढी थिए, जसका कारण मैले कोरोनालाई सहजै जितें,’ पवनले आफ्नो अनुभव साटे ।
यूएईको यू–१५ प्रतियोगितामा पवनले कतारसँग ४७ रन बनाएका थिए भने शरदले सो खेलमा १ सय ६ रन बनाउँदै आफ्नो पहिलो शतक बनाएका थिए । समूहको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि ३ विकेटको जित हात पारेको थियो । त्यसमा पवनले ६२ रन बनाएका थिए । पवनले थोरै खेले, हत्तपत्त विकेट फालेनन् । बरु उल्टै उनले अहिले कोरोना भाइरसलाई बोल्ड गरेका छन् ।
(साभारः कान्तिपुर)