महान ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेकाले उनको स्वास्थ्य अवस्था जटिल बनेको हो।
तीन पटक विश्व च्याम्पियन बन्ने एक्ला खेलाडी पेले एक महिनायता अस्पतालमै उपचार गराइरहेका छन्।
अस्पताल इजरायलिटा अल्बर्ट आइन्स्टाइनले पेलेको ‘क्यान्सर रोग बढेको तथा मृगौला र मुटुसँग सम्बन्धित थप हेरचाह’ चाहिने बताएको छ। सेप्टेम्बर २०२१ मा पेलेको पेटबाट ट्युमर हटाइएको थियो र त्यसपछि नियमित उपचार भइरहेको थियो।
साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो । केही समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो ।
सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्व च्याम्पियन बनाएका पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले ९२ खेलमा ७७ गोल गरेका छन्। कतार विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै नेमारले उनको कीर्तिमान बराबरी गरेका छन्।