समाचार

जर्मनीमा नेपाललाई पदक दिलाउने खेलाडी सम्मानित

जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउने खेलाडीलाई सम्मान गरिएको छ।

गत अगस्ट ४ देखि २४ सम्म भएको प्रतियोगितमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले सम्मान गरेको हो।

कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा नेपाली टिम जर्मनी गएको थियो। खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल भएको टिम प्रशिक्षक राजिव महर्जनले बताए।

विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्दै कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले बधाई ज्ञापन गरिन्। उपमेयर शाक्यले खेलाडीहरुलाई अझ प्रगति गरी देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन्।

उक्त प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक महर्जनले जानकारी गराए .। टिम व्यवस्थापकको भूमिकामा रजनी डंगोल सहभागी थिइन्।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजयप्रकाश महर्जनलगायतको उपस्थिति थियो।