
प्रधानमन्त्री कप ब्याडमिन्टनमा ३ सय बढी खेलाडी, विजेताले १ लाख बढी पाउने
दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिता चैत २८ गतेबाट सुरु हुने छ।
प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टिमका ३ सय खेलाडीको सहभागिता रहने आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले जनाएकाे छ।
प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष युगल, यू–१५ पुरुष–महिला, यू–१९ पुरुष–महिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरी कुल ९ विधामा समावेश हुने छ।
एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन्। यस्तै, यू–१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन्।
यस्तै, यू–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउने छन्। पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन्।
यता, मास्टर्स खुला ४५ वर्षमाथिको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन्। मास्टर्स ५५ वर्षमाथिको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन्।