प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमती र एपिएफको जित

21 Dec, 2023

बुधबारबाट सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमतीले मधेश प्रदेशलाई २८ रनले पराजित गर्‍यो। बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेटको क्षतिमा ८९ रन मात्र जोड्न सक्यो।

मधेशका लागि पूजा महतोले ३५ रन जोडिन् भने अनुराधा चौधरीले २१ रन र प्रतिमा साहले नटआउट १५ रन बनाए। बागमतीकी कप्तान अस्मिना कर्माचार्यले २ विकेट र मनिषा उपाध्यायले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले ४ विकेटको क्षतिमा ११७ रन जोड्यो। बागमतीका लागि यशोदा विष्टले नटआउट ४७ रन र कप्तान अस्मिना कर्माचार्यले नटआउट ३० रन जोडे। दुईबीच नटआउट ७२ रनको साझेदारी भएको थियो।

त्यसअघि ११ ओभर चल्दै गर्दा ४ विकेट गुमाउदा बागमतीले ४५ रन मात्र जोड्न सकेको थियो। बलिङमा मधेशकी पूजा महतोले २ विकेट लिन सफल भइन्।

यता मुलपानी मैदानमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपिएफले १ विकेटको क्षतिमा १६.१ ओभरमै पार गर्‍यो।

एपिएफकी ओपनर ज्योती पाण्डेले नटआउट ४९ रन र इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। पाण्डेले ४८ बलमा ९ चौका र बर्माले ४४ बलमा ४ चौका प्रहार गरिन्।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ८७ रन जोड्यो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन जोडिन्।

बलिङमा एपिएफकी सोनु खड्काले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले समान १ विकेट लिए।