लागतार तेस्रो जित निकाल्दै प्रदेश १ इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्ने क्रममा प्रदेश १ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो।
यसअघि उसले लुम्बिनी प्रदेशलाई ९ रन र मधेश प्रदेशलाई ९ विकेटले हराएको थियो। समूह बीका तीनै खेलमा पराजित भएको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। यो समूहबाट लुम्बिनी र मधेशबीचको विजेता दोस्रो हुँदै समिफाइनल पुग्ने छ।
मंगलबार बिहान भएको खेलमा हुस्सुका कारण ११ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ४० रनको लक्ष्य प्रदेश १ ले ४.५ ओभरमा विनाक्षति भेट्टायो।
उसका कप्तान रुविना क्षेत्रीले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २२ रन बनाइन भने काजल श्रेष्ठले १५ बलमा १३ रन बनाइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३९ रन मात्र बनाउन सक्यो । उसका लागि रमा बुढाथोकीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान १ विकेट लिए।