पोखरासँग ७ विकेटले पराजित हुँदै विराटनगर बाहिरियो

विराटनगर वारियर्स चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)बाट बाहिरिने पहिलो टिम बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो।

यो विराटनगरको लागतार चौथो हार हो । प्रतियोगितामा उ अंकबिहीन । यता, तीन खेलमा तीन अंक नै जोडेको पोखरा चौथो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि असेला गुरुरत्नेले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनी २४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन नटआउट रहे।

यस्तै, रिचार्ड लेभीले २६ बलमा ४७ रन बनाउँदा सहान अरचहिगले ३६ बलमा ४३ रन बनाए । यस्तै कप्तान विनोद भण्डारी १५ रनमा नटआउट रहे। विराटनगरका प्रत्यिस जिसी, सिकन्दर राजा र हरि चौहानले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनायो । उसका लागि आसिफ सेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजाले २९, सन्दीप रजालीले २८ र करण केसीले २४ रन बनाए ।

पोखराका विक्रम सोबले २ विकेट लिँदा नन्दन यादव, विवेक यादव र सहन अरचहिगले समान १ विकेट लिए।