वेस्टइन्डिजको सेमिफाइनल आशा कायमै, तेस्रो हारसँगै बाहिरियो बंगलादेश

युएई र ओमान जारी टि–२० विश्वकपको सुपर १२को तेस्रो खेलमा जित निकाल्दै डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले सेमिफाइनल आशा कायमै राखेको छ। शुक्रबार साँझ भएको खेलमा वेस्टइन्डिजले बंगलादेशलाई ३ रनले पराजित गर्दै सेमिफाइनल आशा कायमै राखेको हो।

सुरुआती दुई खेलमा पराजित भएको वेस्टइन्डिजको यो पहिलो जित हो । ऊ इंग्ल्यान्डसँग ६ र दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भएको थियो। अब उसले अस्ट्रेलिया र श्रीलंकासँग खेल्न बाँकी छ। यता, लागतार तेस्रो हारपछि बंगलादेशर सुपर १२बाट बाहिरिने पहिलो टिम बनेको छ । यसअघि बंगलादेश श्रीलंकासँग ५ र इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।

सारजाहमा पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसका लागि लिटोन दासले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा ४ चौका प्रहार गरे ।

यस्तै, कप्तान महमदुल्लाहले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाए भने सौम्य सर्कार र मोहम्मद नइमले समान १७ रन बनाए । वेस्टइन्डिजका लागि ड्वायन ब्राभो, रवि रामपोउल, जासन होल्डर, आन्द्रे रसेल र अकेल हुसैनले समान १ विकेट लिएश्र

यसअघि खराब सुरुआत गरेको वेस्टइन्डिजले निकोलस पुरनले विस्फोटक ब्याटिङ गरेपछि ७ विकेट गुमाउँदै १४२ रन बनायो । सातौं नम्बरमा ब्याटिङका लागि आएका पुरनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४० रन बनाए ।

यस्तै, रोस्टन चेसले ४६ बलमा ३९ रन बनाउँदा कप्तान केइरन पोलार्डले १८ बलमा १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बंगलादेशका सोरिफुल इस्लाम, महेदी हसन र मुस्ताफिजुर रहमानले समान २ विकेट लिए।