शनिबार राति भएको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोक्दै युरोपियन च्याम्पियन पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइलनाम प्रवेश गरेको छ । इटालीसँगको बराबरीसँगै पोर्चुगल ७ अंकका साथ समूह ए–३को शीर्षस्थानमा रहँदै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले युइएफए नेसन्स लिगको समूह चरणका खेलमा रोनाल्डोलाई आराम दिएका थिए । रोनाल्डोले विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल उरुग्वेविरुद्ध खेलेयता राष्ट्रिय टिमका लागि खेलेका छैनन् । समूह ए–३मा पोल्यान्ड र इटालीसँगै रहेको युरोपियन च्याम्पियन पोर्चुगलले तीन खेलमा २ मा जित निकालेको थियो भने एकमा बराबरी खेलेको थियो ।
पोर्चुगलले लिगको पहिलो खेलमा इटालीलाई १–० ले पराजित गरेको थियो । यस्तै पोर्चुगलले पोल्यान्डलाई ३–२ ले पराजित गरेको थियो भने शनिबार राति भएको खेलमा इटालीलाई गोलरहित बराबरीमा रोकेको हो । समूह ए–३ बाट पोर्चुगल सेमिफाइलनमा पुग्यो भने इटाली समूहमा दोस्रो हुँदै समूह ए मै रह्यो । यस्तै समूहको अन्तिमा रहेको पोल्यान्ड भने रेलिगेसनमा पर्दै बीमा झरेको छ ।
घरेलु मैदान मिलानमा भएको खेलमा इटालीले गोलका केही राम्रा अवसरलाई सदुयोग गर्न नसक्दा सेमिफाइनल प्रवेशको आशा जिवितै राख्ने मौका गुमायो । खेलको पाँचौ मिनेटमा नै इटालीले अग्रता लिने मौका खेर फालेको थियो । चिरो इम्मोबिलको कडा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा इटालीले बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन ।
खेलमा इटालीले ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो । खेलअवधिभर इटालीले १५ प्रहार गरेमा ३ वटा प्रहार मात्र फ्रममा प्रहार गरेको थियो । यता पोर्चुगलले भने ९ मध्ये एउटा प्रहार मात्र फ्रेममा प्रहार गरेको थियो । इटालीले ७ सय ८९ पास खेलेको थियो भने पोर्चुगलले ३ सय ४७ पास मात्र खेलेको थियो । अब समूह ए–३ को अन्तिम खेलमा पोर्चुगल र पोल्यान्ड भिड्ने छन् । खेल मंगलबार राति १ः३० मा पोर्चुगलको इस्टाडियो डे अफोन्सो हेनरीक्विस रंगशालामा हुनेछ ।