पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । कप्तान सोपपाल कामीले उत्कृष्ट बलिङ गरेपछि बुटबलले चितवनलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन १६.५ ओभरमा ६५ रनमै अलआउट भयो । चितवनलाई सस्तैमा समेट्न बुटबलका कप्तान सोमपाल कामीले घातक बलिङ गरे । सोमपालले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । यस्तै ललित भण्डारीले २, रोनह मुस्तफा, विपिन खत्री र अविनास बोहराले १–१ विकेट लिए ।
बुटबलको बलिङ आक्रमणसामू निरीह देखिएको चितवनका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर गरे । उसका लागि भुवन कार्कीले सर्वाधिक १९ रनको योगदान दिए भने कप्तान पारस खड्काले १० रन मात्र बनाउन सके ।
चिवतनले दुवै ओपनर अनिलकुमार साह र सोनु तामाङलाई शुन्य रनमै गुमाएको थियो । यस्तै शक्ति गौचन र सन्नी पटेलले ९–९ रनको योगदान दिए भने करण केसीले ७ रन बनाए ।
यसअघि टस जितेर चितवनले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको बुटबलले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । उसका लागि शंकर रानाले सर्वाधिक ४८ रन बनाए । उनले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
यसैगरी ओपनर सागर पुनले ४८ बल खेल्दै ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको उत्कृष्ट पारी खेले । यस्तै सिद्धान्त लोहनीले १५ बलमा १७ रन बनाए भने कप्तान सोमपाल कामी ३ बलमा रन बनाएर रन आउट भए ।
चितवनका करण केसीले २ विकेट लिए भने रामनरेश गिरी र शक्ति गौचनले १–१ विकेट लिए । प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा काठमाडौं रोयल्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ ।