ए डिभिजन फुटसल लिगः फुटसल फाइभ धरान, स्पोर्ट्स क्यासल र प्रभातफेरी विजयी

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत सोमबार भएका दुई खेलमा फुटसल फाइभ धरान, स्पोर्ट्स क्यासल र प्रभातफेरी युथ क्लब विजयी भएका छन् । सोमबार पोखरा रंगशालास्थित बहुद्देश्यीय कभर्डहलमा भएको खेलमा फुटसल फाइभले झरना स्पोर्ट्स क्लबलाई ९–५ले हराउँदा प्रभातफेरीले लुम्बिनी फुटसललाई ६–१ले हरायो। यस्तै, पोखराको स्पोर्ट्स क्यासलले मच्छिन्द्र स्काई गोल्समाथि ८–३को जित निकाल्यो।

फुटसल फाइभ धरानलाई जित दिलाउने क्रममा कप्तान सन्दीप कार्कीले ह्याट्रिकसहित ४ गोल गरे भने रन्जित गुरुङले दुई तथा सुजन खड्का, निरभ खड्का र विश्वजित राईले एक गोल गरे । झरनाका नारायण थापा मगरले ह्याट्रिक गर्दा गंगा गुरुङले दुई गोल गरे।

यसैगरी अर्को खेलमा प्रभातफेरी युथ क्लबले लुम्बिनी फुटसललाई ६–१ ले हरायो । प्रभातफेरीका लागि धिरज जोशी, सन्तलाल गुरुङ, विशाल सारु मगर, सृजेश पुरी, आशिष दंगाल र सुविल श्रेष्ठले गोल गरे भने लुम्बिनीका रुपन बराइलीले गोल गरेका थिए।

यस्तै, स्काई गोल्सविरुद्ध स्पोर्ट्स क्यासललाई जित दिलाउन सुमित श्रेष्ठ र खिमराज गुरुङले समान २ गोल गर्दा किशोर गुरुङ, दीपेश घले, विजय गुरुङ र विसोन गुरुङले पनि गोल गरे। स्काई गोल्सका मनोज राई र रोशन अधिकारीले गोल गरे भने स्पोर्ट्स क्यासलका योगेश गुरुङले आत्मघाती गोल गरेका थिए।

जितसँगै ५ खेलमा १३ अंक जोडेको स्पोर्ट्स क्यासल शीर्ष स्थानमा उक्लिएको छ। फुटसल फाइभ ५ खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। जितबिहीन झलना भने पुछारमा छ। लुम्बिनी र प्रभातफेरीको भने समान ४ अंक छ।

Facebook Comments Box