फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर एन्जल डि मारियलाई चार खेलको प्रतिबन्ध लगाइएको छ। गत १३ सेप्टेम्बरमा लिग वानअन्तर्गत मार्सेलीविरुद्धको खेलमा झगडामा सामेल भएको १० दिनपछि डि मारियालाई प्रतिबन्ध लगाउने निर्णय गरिएको हो।
३२ वर्षीय अर्जेन्टाइन डि मारियाले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई खेलको दौरान थुकेको आरोप लागेको थियो। तर, उनको प्रतिबन्धको स्पष्ट कारण भने खुलाइएको छैन ।
मार्सेलीविरुद्धको सो खेलमा पिएसजीका ३ र मार्सेलीका २ गरी पाँच खेलाडीलाई रातो कार्ड दिएको थियो। डि मारियाले भने कार्ड पाएका थिएनन् । रातो कार्ड पाउनेमा पिएसजीका नेमार, लेइभिन कुरजावा, लियोनार्दो पेरडेस थिए भने मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेडेट्टो थिए ।
यसअघि रातो कार्ड पाएका नेमारलाई २ खेल प्रतिबन्ध लगाइएको थियो भने डिफेन्डर लेइभिन कुरजावालाई ६ र मिडफिल्डर लियोनार्दो पेरडेसलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो । यस्तै, मार्सेलीका जोर्डन अमाभीलाई ३ र डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।
रातो कार्ड पाएर मैदान बाहिर निस्कने क्रममा नेइमारले आफूमाथि रंगभेद भएको आरोप लगाएका थिए। नेइमारले मार्सेलीका गोन्जालेजले रंगभेद गरेको कुरा फोर्थ अफिसियललाई जानकारी गराएका थिए।
पछि समाजिक सञ्जालमा पनि नेइमारले रंगभेदको आरोप दोहोर्याएका थिए। तर गोन्जालेजले भने आरोपको खण्डन गरेका थिए। उनीमाथिको आरोपको पनि छानविन भइरहेको छ ।