फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ। मंलबार राति भएको खेलमा किलियन एम्बाप्पे र लियोनल मेसी चम्किएपछि पिएसजीले बेल्जियन क्लब क्लब ब्रुगमाथि ४–१को जित निकाल्यो।
पिएसजीलाई सानदार जित दिलाउने क्रममा एम्बाप्पे र मेसी दुवैले समान २ गोल गरे भने क्लब ब्रुगका म्याट रिट्सले गोल गरेका थिए। पिएसजीले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गरेको थियो ।
खेलको दोस्रो मिनेटमा नै पिएसजीले अग्रता लियो । नुनो मेन्डेसको प्रहार क्बल ब्रुगका किपरले रोकेपछि आएको रिबाउन्डमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । ७औं मिनेटमा एन्जेल डि मारियाको पासमा एम्बाप्पेले नै भली गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।
३७औं मिनेटमा एम्बाप्पेकै पासमा मेसीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा पिएसजीले ३–०को अग्रता लियो । ६७औं मिनेटमा क्लब ब्रुगका माट्स रिट्सले गोल गर्दै गोल अन्तर घाटाउने प्रयास गरे । ७६औं मिनेटमा मेसीले पेनाल्टीमा गोल गरेपछि पिएसजी ४–१ले विजयी भयो ।
यसैगरी घरेलु मैदानमा जर्मन क्लब आरबीले लेइपजिगले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हरायो। कोरोनाको नयाँ भेरियन्टको त्रासका कारण विनादर्शक भएको खेलमा लेइपजिगले सिटीमाथि २–१को जित निकाल्यो ।
खेलमा लेइजिगका डोमेनिक सोबोस्लाइले २७औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लेइजिगको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा रियाद महारेजले गोल गरेपनि सिटीलाई जित दिलाउनन सकेनन् । ८२औं मिनेटमा केल वाकरले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो।
समूह एबाट अन्तिम खेलअवागै सिटी र पिएसजी अन्तिम १६ पुगिसकेका थिए । पराजयका बाबजुद पनि सिटी १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो भने पिएसजी ११ अंकका साथ दोस्रो भयो । यो समूहमा लेइपजिगले ७ र क्लब ब्रुगले ४ अंक जोडे।