नेपाली क्रिकेटमा श्रीलंकनमुलुका क्यानेडाली प्रशिक्षक पुबुदु दसानायकेले पुनरागमन गरेका छन्। पुबुदु दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ क्यानको हनिबार बसेको बोर्ड बैठकले पुबुदुलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी खुला प्रतिस्पर्धाबाट प्रशिक्षक बनेका हुन्। गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।
पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । नेपाली टिमका सबैभन्दा सफल प्रशिक्षक पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टि–२० विश्वकप खेलेको थियो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए । तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो ।
नेपालले २०२२ को फेब्रुअरीमा टि–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।