नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके प्रशिक्षकका रुपमा पुनः नेपाल आउने भएका छन् । तर, उनी राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा नभई फ्रेन्चाइज क्लबको प्रशिक्षकका रुपमा नेपाल आउन लागेका हुन् ।
केही महिना अगाडि मात्र अमेरिकाको राष्ट्रिय टिमको प्रशिक्षकबाट राजिनामा दिएका पुबुदु एभरेस्ट प्रिमियर लिग (इपिएल) क्लब भैरहवा ग्लाडियटर्सको प्रशिक्षका रुपमा पुनः नेपाल आउने भएका हुन् । पछिल्ला दुई संस्करणको इपिएलमा उपविजेतामै सीमित बनेको भैरहवालाई च्याम्पियन बनाउने उद्देश्यसहित पुबुदुलाई प्रमुख प्रशिक्षकका रुपमा अनुबन्धन गरेको हो ।
इपिएल चौथो संस्करण २९ फेब्रुअरीदेखि १४ मार्चसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुँदै छ । प्रतियोगितामा भैरहवाको कप्तानी राष्ट्रिय खेलाडी शरद भेषावकरले गरिरहेका छन् । प्रतियोगितको पहिलो संस्करण शरदकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो भने दोस्रो संस्करण विराटनगर वारियर्स र तेस्रो संस्करण ललितपुर प्याट्रिओट्ले जितेको थियो ।
चार वर्षपछि प्रशिक्षककै रुपमा नेपाल फर्कन पाउँदा आफू निकै खुसी भएको दासानायकेले बताएका छन् । उनले भैरहवाले जारी गरेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘भैरहवा ग्लाडिएटर्ससँग अनुबन्धित हुँदा म निकै खुसी छु । नेपाल सधैँ मेरो मुटुको नजिक छ । र, फेरि नेपाल फर्कन पाउँदा खुसी छु । यो अवसरका लागि सबैप्रति कृतज्ञ छु । नेपाली क्रिकेटलाई जसरी सक्छु, सहयोग गर्ने छु ।’
पुबुदु नेपाललाई टी–२० विश्वकपमा छनोट गराउनेदेखि धेरै ठूला र महत्वपूर्ण सफलता दिलाउने प्रशिक्षक हुन् । चार वर्षभन्दा लामो समय नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेपछि सन् २०१५ को अन्त्यतिर जिम्मेवारी मुक्त भएका पुबुदु त्यसपछि अमेरिकाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।