°
, June 7, 2023 in
0

स्पोर्टस् अवार्डमा सगरमाथा र टर्किसको साथ

SHARE:

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सहप्रायोजकका रूपमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिएका छन् ।

नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्डलाई घोराही सिमेन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सले सहप्रायोजकका रूपमा सघाउने भएका हुन् । सगरमाथा सिमेन्टले दोस्रोपटक अवार्ड कार्यक्रमसँग सहकार्य गरेको हो । टर्किस पहिलोपटक अवार्डसँग जोडिन आइपुगेको हो ।

सम्झौताअनुसार सगरमाथा सिमेन्टले अवार्डलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउनेछ । टर्किस एयरलाइन्सले वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई टर्किस एयरलाइन्सबाट कुनै पनि गन्तव्यका लागि पाँच लाख रुपैयाँबराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ । यस्तै, एयरलाइन्सले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुट दिनेछ ।

दुवै पक्षसँगको सम्झौता एक वर्षका लागि रहने अवार्ड आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । यसैबीच, सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र घोराही सिमेन्टका निर्देशक आदित्य सांघाई तथा टर्किस एयरलाइन्स नेपालका प्रबन्ध निर्देशक अब्दुल्लाहा ट्युन्चर केसिसीले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि घोराही सिमेन्ट प्रालिका निर्देशक सांघाईले राष्ट्रिय आवश्यकताका आधारमा खेलकुद अवार्डसँग आफूहरू जोडिएको बताए । युवा र देशलाई एकताबद्ध गर्ने एउटा मात्र माध्यम खेलकुद भएको बताउँदै उनले सोही कारण अवार्डसँग जोडिन पुगेको धारणा राखे ।

टर्किस एयरलाइन्सका केसिसीले सफल खेलाडीलाई सम्मान गर्ने अभियानमा आफूहरू जोडिन पाउँदा खुसी लागेको बताए । मञ्चका अध्यक्ष सुवेदीले निजी क्षेत्रको सहकार्यले अवार्ड कार्यक्रमको सफलतामा सहयोग पुग्ने धारणा राखे ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *