बंगलादेशमा जारी बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। ढाकामा शुक्रबार भएको साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन्।
निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै पुष्पाले स्वर्ण जितिन् । यस्तै, पुष्पाभन्दा २० सेकेन्डले पछि परेकी श्रीलंकाकी सुजनी परेरा रजत तथा नेपालकै वृन्दा श्रेष्ठ धानुकेले कास्य जितिन्। वृन्दाले निर्धारित दुरी २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा पुरा गरिन्।
पुष्पाले दोस्रो पटक यो प्रतियोगितामा स्वर्ण जितेकी हुन्। यसअघि उनले २०२१ मा स्वर्ण जितेकी थिइन् भने सन् २०२२ मा कास्य जितेकी थिइन्।
यस्तै, पुरुषतर्फ हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कास्य पदक जितेका छन्। प्रतियोगितामा नेपालका १० खेलाडी सहभागी छन् ।