लियोनल मेसीको टिम अर्जेन्टिना छैठौं पटक विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार राति लुसेल रंगशालामा क्रोएसियालाई ३–०ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।
अर्जेन्टिनाको फाइनल यात्रामा लियोन मेसीको मूख्य भुमिका थियो। तिनै मेसीको यो अन्तिम विश्वकप हो, र उनी अन्तिम पटक विश्वकप उपाधि जित्ने अभियानमा छन् ।
पाँचौैं विश्वकप खेलिरहेका मेसी विश्वकप उपाधि जित्दै आफ्नो चम्किलो फुटबल करिअरमा थप चमक थप्न चाहन्छन्। त्यसका लागि मेसीले फ्रान्स या मोरक्को मध्ये एक प्रतिद्वन्द्वी पाउनेछन्।
क्रोएसियालाई हराउँदै फाइनल पुगेसँगै मेसीले आफ्ना लागि यो अन्तिम विश्वकप भएको बताएका छन् । उनले आइतबार हुने कतार विश्वकपको फाइनल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने पनि उल्लेख गरेका छन्।
‘म धेरै खुशी अनुभव गरिरहेको छु । फाइनलमा खेल्दै विश्वकपको यात्रा समाप्त गर्न पाउनु खुशीको कुरा हो,’ क्रोएसियाविरुद्धको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै मेसीले भने, ‘अब अर्को विश्वकप आउन धेरै वर्ष लाग्छ, र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु ।’
फाइनलसँगै मेसीले आफ्नो नाममा अर्को कीर्तिमान पनि बनाउने छन्। फाइनल उनको विश्वकपको २६औं खेल हुनेछ, र उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन्।
क्रोएसियाविरुद्ध गोल गर्दै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए। उनले विश्वकपमा कुल ११ गोल गरेका छन्।