स्पेनका टेनिस खेलाडी रफेल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । नाडालले आइतबार कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जित्दै इतिहास बनाएका हुन् । उनले रोलान्ड ग्यारोसमा भएको फाइनलमा नोभाक जोकोभिचलाई सजिलै ६–०, ६–२ र ७–५ ले पराजित गरे ।
शीर्ष वरीयताका जोकोभिचले दोस्रो नम्बरका खेलाडीविरुद्ध कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेनन् । यससँगै नाडालले २० औं ग्रान्ड स्लाम उपाधि पनि जितेका छन् र रोजर फेडेररसँग सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमान बराबर गरेका छन् ।
जोकोभिच १७ ग्रान्ड स्लामसँगै तेस्रो स्थानमा छन् । नाडालले भने कीर्तिमान फ्रेन्च ओपन जितेर आफू क्ले कोर्ट टेनिसका सर्वकालीन महान् खेलाडी भएको पनि फेरि एकपल्ट प्रमाणित गरेका छन्।