बार्सिलोना तथा स्पेनका लिजेन्ट फुटबलर जाभीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको लेभलमा पुग्ने बताएका छन् । इंग्लिस पत्रिका ‘द मिरर’सँगको कुराकानीमा जाभीले स्टर्लिङले विश्वफुटलमा मेसी र रोनाल्डेको दबादबालाई तोड्ने बताए ।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा स्टर्लिङ अझ उत्कृष्ट बनेको जाभीको धारणा छ । ग्वार्डिओला बार्सिलोना छँदा जाभी उनको प्रिय खेलाडी थिए । ‘अघिल्लो सिजन स्टर्लिङले २५ गरेका छन् र अहिले पनि ६ गोल गरिसकेका छन् । त्यसले स्टर्लिङ उत्कृष्ट भएको प्रमाण दिन्छ’ जाभीले भने ।
ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले लागातार दुई प्रिमियर लिग उपाधि जित्दा स्टर्लिङ मुख्य खेलाडी थिए । स्टर्लिङ सन् २०१५ मा लिभरपुलबाट सिटी आएका हुन् । अघिल्लो सिजन स्टर्लिङ प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडी बनेका थिए ।
मिररसँगको कुराकानीमा जाभीले भने, ‘स्टर्लिङ खतरानाक र उत्कृष्ट खेलाडी हुन् । पेपकै प्रशिक्षणमा उनी यो स्थानमा आइपुगेका छन् । उनी अझै योभन्दा माथि जान सक्षम छन् । अहिले नेमार, मोहम्मद सलाह र किलियन एम्बाप्पेले पनि मेसी र रोनाल्डोको पथ पछ्याइरहेका छन् । तर, उनीहरुभन्दा स्टर्लिङ अगाडि छन् ।’
यसैगरी जाभीले ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यान्चेस्टर सिटी यो सिजनको च्याम्पियनस लिग उपाधिका को सबैभन्दा ‘फेबरेट टिम’ भएको बताएका छन् । लागतार दुई प्रिमियर लिग उपाधि जिति सकेकाले सिटी च्याम्पियन्स लिग उपाधिको प्रमुख दाबेदार भएको उनको बुझाई छ ।
साथै उनले सिटीसँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल र बार्सिलोना पनि उपाधि दाबेदार भएको बताएका छन् । तर, दुवै टिमले च्याम्पियन्स लिगमा राम्रो सुरुवात गर्न सकेनन् । बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमन्डसँग बराबरीमा रोकियो भने लिभरपुल इटालियन क्लब नापोलीसँग २–०ले पराजित भयो ।