सिलवाल पुनः राखेप सदस्य सचिवमा नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवालाई पुनः सदस्यसचिवमा नियुक्त गरेको हो ।

योसँगै सिलवाल लागतार दुई कार्यकाल राखेप सदस्य सचिव बन्ने पहिलो व्यक्ति बनेका छन् । यस्तै उनी खुला प्रतिस्पर्धाबाट सदस्य सचिव बन्ने पनि पहिलो व्यक्ति बने । सिलवालको कार्यकाल ४ वर्ष हुने छ ।

नयाँ खेलकुद ऐन लागु भएपछि रिक्त रहेको राखेप सदस्य सचिव नियुक्तीका लागि गठन भएको सिफिरिस समितिले सिलावालसहित भलिबल टिमकी पूर्वकप्तान अन्जु श्रेष्ठ र भलिबल संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा सिफारिस गरेको थियो ।

२०७६ असारमा राखेप सदस्य सचिव बनेका सिलवाल नयाँ खेलकुद ऐन आएपछि २०७७ असरमा पदमुक्त भएका थिए । गत असारमा सदस्य सचिवमा नियुक्त भएका सिलवाल प्रधानमन्त्री केपी ओली निकटका मानिन्छन् । पूर्वएमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्व अध्यक्ष समेत हुन् ।

समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषदले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । सदस्य सचिव चयनपछि अब राखेप बोर्डमा सदस्यहरुको नियुक्ति प्रकिया पनि शुरु हुनेछ । नयाँ ऐन अनुसार राखेपको बोर्डमा अब ३७ सदस्यीय हुनेछ । जसको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहनेछन् ।

नयाँ ऐन अनुसार अब सदस्य सचिवको एकल अधिकार ७ सदस्यीय कार्यसमितिमा बाँडिनेछ । उक्त कार्यकारी समितिको संयोजक सदस्य सचिव नै रहनेछन् भने सदस्यमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुख महाशाखा प्रमुख सदस्यको रुपमा रहनेछन् ।

राखेप बोर्ड सदस्यमध्ये खेलकुद मन्त्री र सदस्य सचिवले दुई–दुई जना मनोनित गर्नेछन् । राखेपको प्रशासन विभाग प्रमुख भने उक्त समितिको सचिवको रुपमा रहनेछन् ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले कोइरालालाई उपाध्यक्षमा नियुक्त गरेको हो । वरियताक्रममा उपाध्यक्ष माथि रहे पनि कार्यकारी अधिकार भने सदस्यसचिवलाई रहेको छ । खेलकुद विकास ऐन २०७७ अनुसार तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सेना पदमुक्त भएका थिए । उनको ठाउँमा कोइरालालाई उपाध्यक्ष बनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *