१४औं संस्करणको आईपिएलमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
पहिला ब्याटिङ गर्दै कोलकाताले दिएको १८९ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । हैदरावादका मनिष पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।
मनिषले ४४ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ६१ रन बनाए भने बेयर्स्टोले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन जोडे । यस्तै, अब्दुल सामदले ८ बल खेल्दै २ छक्का मद्दतमा अविजित १९ रन बनाए । कोलकाताका प्रसिद कृष्णाले २ विकेट लिए भने शकिब अल हसन, आन्द्रे रसेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।
पहिला कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । रानाले ८० रन बनाएपछि कोलकताले उच्च स्कोर बनाएको थियो । नितिमले ५६ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै राहुल त्रिपाठीले २९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । विकेटकिपर दिनेश कार्तिकले ९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २२ रन जोडे । हैदरावादका रासिद खान र मोहम्मद नावीले २-२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र टि नटराजनले समान १ विकेट लिए ।