राष्ट्रिय च्याम्पियन रशीला तीन उपाधी नजिक

राष्ट्रिय च्याम्पियन रशीला महर्जनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छिन् । रशीला नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा तीन उपाधि नजिक पुगेकी छिन् । राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरिरहेको प्रतियोगितामा रशीला महिला एकल, महिला युगल र यू–१७ गरी विधाको फाइनलमा पुगेकी छिन् ।

नेपाली सेनाकी रशीलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङलाई २१–१७, १८–२१, २१–१३ ले पराजित गर्दै फाइनल यात्रा तय गरिन् । यस्तै, यू–१७ तर्फको सेमिफाइनलमा रशीलाले राजधानी युथ क्लब मोरङकी रोज पाण्डेको चुनौती २१–९, २१–१६ ले पन्छाइन् ।

रशीलाले महिला एकलको फाइलनमा डिफेन्डिङ च्याम्पियन नङ्शलदेवी तामाङसँग भिड्ने छिन् । नङ्शलले राजधानी युथ क्लब, मोरङकी सिमा राजवंशीलाई २१–१७, २१–१२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

यसैगरी महिला युगलमा रशीला र सेनाकै रञ्जना भट्टको जोडीले बाँकेकी सम्झना शर्मा र मोरङकी सीमा राजवंशीको जोडीलाई २१–१५, २१–१७ ले पराजित गरे । अब उनीहरुले उपाधिका लागि एपिएफका जेशिका गुरुङ र पुजा श्रेष्ठको जोडीसँग खेल्ने छन् ।
यू–१७को उपाधिका लागि रशीलाले राजधानी युथ क्लब, मोरङकी सीमा राजवंशीसँग प्रतिस्पर्धा गर्ने छिन् । रशीलाले राजधानी युग क्लब, मोरङकी रोज पाण्डेलाई २१–९, २१–१६ ले तथा राजवंशीले सेनाकी रञ्जना भट्टलाई १६–२१, २१–१६, २१–१४ ले पराजित गरेकी थिइन् ।

इटहरी रंगशालास्थित कभर्डहलमा भइरहेको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पन्छाउँदै फाइनल पुगेका छन् । अब उनले उपाधिका लागि पूर्वराष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङसँग खेल्ने छन् । रत्नजितले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१–१४, २१–१९ ले पराजित गरेका थिए ।

यसैगरी दिपेश र रत्न युगलमा पनि उपाधिका लागि भिड्ने भएका छन् । युगलतर्फ दिपेशले विजित थापा मगरसँग मिलेर बाँकेका रियाज अन्सारी र इरफान अन्सारीलाई २१–१५, २१–१७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठसँग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१५, २४–२२ को कठिन जित निकाले ।
पुरुष खुल्लातर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाइनल प्रवेश गरेका छन् । पविनले एपिएफका प्रियान्सुसिंह क्षेत्रीलाई १९–२१, २१–११, २१–१८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२–२०, २१–१८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

महिला खुल्लातर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाईनल प्रवेश गरेकी छिन् । खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२–२०, १३–२१, २१–१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवा संगको भेट पक्का गरेकी हुन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१–१६, २१–१० ले पाखा लगाइन् ।

छात्र यू–१७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सुसिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१–१०, २१–१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङलाई २१–१५, २१–१९ ले पराजित गरे ।

भेट्रान्स जोडी तर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । प्रधान र श्रेष्ठको जोडीले ईलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१– १४, २१–१० ले पन्छाए । यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२– २०, १९–२१, २१–६ ले पराजित गर्दै फाईनलमा प्रधान र श्रेष्ठको जोडीसंगको भेट पक्का गरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP