
पहिलो टि–२० मा भारतले अस्ट्रेलियालाई हरायो
टि–२० सिरिजको पहिलो पहिलो खेलमा भारतले घरेलु टिम अस्ट्रेलियाविरुद्ध जित निकालेको छ । शुक्रबार क्यानबेरामा भएको ३ खेलको टि–२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियाई ११ रनले हरायो ।
पहिला ब्याटिङ गर्दै भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए भने डार्ची सर्टले ३४ र मोइसेस हेनरिक्सले ३० रन बनाए ।
कप्तान फिन्च र सर्टले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । तर, मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल सस्तैमा आउट भएपछि अस्ट्रेलिया दबाबमा आएको थियो । अस्ट्रेलियालाई दबाबमा राख्ने क्रममा भारतका टि नटराजन र युजवेन्द्र चहलले समान ३ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको भारतले केएल राहुल र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ मद्दतमा ७ विकेटको क्षतिमा १६१ रन बनायो । राहुलले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए भने जडेजाले २३ बलमा ५ चौका र १ छक्का मद्दतमा नटआउट ४४ रन बनाए ।
यस्तै, सन्जु सामसनले २३, मनिष पाण्डेले १६ रनको योगदान दिए । अस्ट्रेलियाका मोइसेस हेनरिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।
यी दुईबीचको दोस्रो टेस्ट डिसेम्बर ६ मा क्यानबेरामा हुने छ । यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज अस्ट्रेलियाले २–१ले जितेको थियो ।