जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगले सहज जित हात पारेको छ। बुन्डेस लिगाको दोस्रो चरणअन्तगर्त शुक्रबार राति भएको खेलमा उसले स्टुटगार्टलाई ४–०ले हरायो।
बुन्डेस लिगामा लेइपजिगको यो पहिलो जित हो । पहिलो खेलमा उ माइन्जसँग १–०ले पराजित भएको थियो। लेइपजिगको जितमा स्ट्राइकर डोमेनिक सोबोस्लाइजले २ तथा इमिल फोर्सबर्ग र आन्द्रे सिल्भासले समान १ गोल गरे।
३८औं मिनेटमा सोबोस्लाइजको गोलमा लेइपजिगले सुरुआती अग्रता लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै फोर्सबर्गले गोल गर्दै लेइजिगको अग्रता दोब्बर बनाए ।
सोबोस्लाइजले ५८औं मिनेटमा गोल गरेपछि लेइपजिगले ३–०को अग्रता लियो। ६५औं मिनेटमा आन्द्रे सिल्भाले पेनाल्टीमा गोल गरेपछि लेइजिगले ४–०को सहज जित निकाल्यो ।
लेइजिगका लागि आन्द्रे सिल्भाको यो पहिलो गोल हो। उनी यसै सिजन फ्र्यांकफर्टबाट लेइपजिग आएका हुन्।