कारबाओ कप : डिफेन्डिङ च्याम्पियन सिटी बाहिरियो, टोटनहम र लिभरपुल अन्तिम ८मा

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ। प्रि–क्वाटरफाइनलअन्तर्गत बुधबार राति भएको खेलमा वेस्टह्यामसँग पेनाल्टी सुटआउटमा ५–३ले पराजित हुँदै लगातार चार पटकको च्याम्पियन सिटी प्रतियोगितबाट बाहिरिएको हो।

वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। जसमा घरेलु टोलीले बाजी मारेको छ ।

पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए। उसका मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे। सिटीका फिल फोडेनले गोल गर्न सकेनन्। उसका जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गरेका थिए।

यसैगरी अर्को खेलमा प्रिस्टोन नर्थलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको छ। लिभरपुलको जितमा ताकुमी मिनामिनो र डिभोक ओरिगीले गोल गरे ।

६२ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने ८४ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए। यो जितसँगै लिभरपुलले अपराजित यात्रालाई २३ खेलसम्म पुर्‍याएको छ।

यस्तै, टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। लुकास मोउराले ६८औं मिनेटमा गरेको गोल नै टोटेनहमलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो। यस्तै, ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे। स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए।

यो सँगै कारवाओ कपको क्वाटरफाइन समीकरण पुरा भएको छ। आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन्। क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ।