°
, June 1, 2023 in
0

रियल मड्रिडको सहज जित, रोकियो बार्सिलोना

SHARE:

स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित हात पर्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले नवप्रवेशी क्लब हुएस्कालाई ४–१को फराकिलो अन्तरले पराजित गर्दा बार्सिलोना भने अलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले २ गोल गरे भने इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक एक गोल गरे । हुएस्काका डेभिड फेरिरियोले एक गोल फर्काए ।

पहिलो हाफको ४०औं मिनेटमा हाजार्डको गोलमा रियलले अग्रता लियो । चोट मुक्त हुँदै मैदान फर्किएको पहिलो खेलमै हाजार्ड गोल गर्न सफल भए । खेलको ४५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

खेलको ५४ औं मिनेटमा भाल्भार्डेले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए । ७५औं मिनेटमा पाहुना टोलीका डेभिडले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । ९०औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

यसैगरी बार्सिलोना अलाभेससँग १–१को बराबरीमा रोकिएको छ। शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित अलाभेससँग अंक बाँड्न बाध्य भयो । बार्सिलोना ला लिगाका पछिल्ला चार खेलमा जित निकाल्न असफल छ ।

लुइस रियोजाले ३१औं मिनेटमा गोल गरेपछि अलाभेसले पहिलो हाफमै बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । ६२औं मिनेटमा मिडफिल्डर जोटा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि अलाभेस १० खेलाडीमा सीमित भएको थियो।

लगत्तै एन्टोइन ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि बार्सिलोनाले लगातार दबाब दिएपनि गोल गर्न असफल भयो । बार्सिलोनाका लियोनल मेसी, अंशु फाती, ग्रिजम्यानको प्रहार गोलकिपर फर्नान्डो पाचेकोले असफल बनाएका थिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ८ अंक सहित १२ औं स्थानमा छ भने अलाभेस समान अंक जोड्दै १३औं स्थानमा छ । ८ खेलमा ५ अंक जोड्दै हुएस्का १८औं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *