जारी सिजन बार्सिलोला खराब लयबाट गुज्रिरहेको छ। उ ला लिगाको अंक तालिका मध्यतिर मात्र छ। यता, रियल मड्रिड भने उत्कृष्ट प्रदर्शन गर्दै तालिको दोस्रो स्थानमा छ।
यस सिजन ला लिगाका १२ खेल खेलिसक्दा बार्सिलोना रियलभन्दा १० अंकले पछि छ । रियल २७ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना १७ अंकसहित नवौं स्थानमा छ ।
बार्सिलोना ला लिगाको उपाधि होडमा पछाडि परेको देखेर आफू आश्चर्यचकित भएको रियल मड्रिडका डानी कार्भाजलले बताएका छन् । उनले भनेका छन्- ‘कार्लो एन्सेलोटीले भनेजस्तै बार्सिलोना उपाधि होडमा धेरैपछि रहँदा हामी आश्चर्यमा छौं, तर कसैले पनि उनीहरुलाई कुनै उपाधिबाट बन्चित गर्न सक्दैन ।’
उनले बार्सिलोना उपाधि होडबाट बाहिरिएको मान्न नहुने बताए । ‘जब जिनेदिन जिदान क्लब आएका थिए, हामी बार्सिलोनाभन्दा १२ अंक पछि थियौँ र हामीले एक अंक मात्र पछि रहेर सकायौं, उनीहरुलाई अन्तिम खेलसम्म दबाव दिइरह्यौं,’ उनले भने।
कार्भाजल लामो समयपछि स्पेनको टिममा फर्किएका हुन् । चोटका कारण टिम बाहिर रहेको उनले घर बसेर खेल हेर्नु पर्दा दुःख लागेको सुनाए । तर अहिले राष्ट्रिय टिमको जर्सी लगाउन पाउँदा उत्साहित रहेको समेत उनले बताएका छन् ।