युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ। बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको रियलले इंग्लिस क्लब चेल्सीमाथि २–०को जित निकाल्यो।
रियलको जितमा करिम बेन्जिमा र मार्को असेन्सियोले गोल गरे। रियलले दुवै हाफमा समान १ गोल गरेको थियो।
२१औं मिनेटमा बेन्जिमाले ट्याप इनमा सहज गोल गर्दै रियललाई अग्रता दिलाए। ड्यानी कार्भहालको पासमा डिबक्समा भिनिसियस जुनिरयरले मिलाइदिएको बलमा गोललाइन नजिकैबाट उनले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।
५९औं मिनेटमा चिलवेलले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटियो। उनले काउन्टरमा बल अगाडि बढाउँदै गरेको रोड्रिगोलाई डिबक्सको ठीक बाहिर तानेर लडाएपछि सिधै रातो कार्डा पाएका थिए । ७४औं मिनेटमा भिनिसयसकै पासमा असेन्सिओले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल १९मा स्टामफोर्ड ब्रिजमा हुनेछ।