इन्जुरी समयमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति इन्जुरी सयमा सम्हालिन नसक्दा रियल म्याड्रिड अलाभेसँग १–० ले पराजित भएको छ । यो रियलको लगातार दोस्रो हार हो ।

रियलको पछिल्ला ४ खेलमा तेस्रो हार हो भने चार खेलयता रियल गोल बिहीन छ । यसअघि रियल ला लिगाकै खेलमा सेभिल्लासँग उसको घरेलु मैदानमा ३–० ले पराजित भएको थियो भने एट्लेटिको म्याड्रिडसँग सान्टियागो बर्नाबेउमै गोलरहित बराबरीमा रोकिएको थियो ।

यसैगरी च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा रियल सिएसकेए मोस्कोको मैदानमा १–० ले पराजित भएको थियो । रियलले ला लिगाका पछिल्ला ३ खेलमा १ अंकमात्र जोडेको छ ।

शनिबार अलाभेसको मैदानमा भएको खेलमा अलाभेसलाई जित दिलाउन म्यानुअल अलेजान्ड्रो गारिका सान्चेजले गोल गरे । उनले इन्जुरी समयको ५ औं मिनेटमा हेहिङ मार्फत गोल गर्दै अलाभेसलाई जित दिलाएका थिए ।

रियललाई पराजित गरेसँगै अलाभेस अंक तालिकको तेस्रो स्थानमा उक्लिएको छ । रियलसँगै समान १४ अंक भएपनि गोल अन्तरका आधारमा अलाभेस तेस्रो स्थानमा रहेको हो ।

यसैगरी ला लिगाकै अन्य खेलमा एट्लेटिको बिल्बाओ रियल सोडिडाडसँग ३–१ पराजित भयो भने एबारले जिरोनालाई ३–२ ले पराजित गरेको छ । यस्तै, लेभान्टेले गेटाफेलाई १–० ले पराजित गर्‍यो ।