एम्बाप्पे किन्न रियलले राख्यो १६० मिलियनको प्रस्ताव, पिएसजी परिबन्धमा

स्पेनिस जाइन्ट रियल मड्रिडले पिएसजीका फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे अनुबन्ध गर्न १६० मिलियन युरोको प्रस्ताव राखेको छ। अब अन्तिम निर्णय पिएसजीको हातमा रहेको छ।

च्याम्पियन्स लिग जित्न जोडतोडले लागेको पिएसजी यो सिजन हरेक तरिकाले विश्वकै बलियो स्क्वाड बनाउने ध्याउन्नमा छ। यसका लागि उसले सर्जियो रामोस, मेसीलगायत फुटबलका सर्वोत्कृष्ट खेलाडीहरू क्लबमा ल्याएको छ।

पिएसजी एम्बाप्पे क्लबमा बसुन् भन्ने चाहन्छ। त्यसैले पनि केही दिनअघि उसले एम्बाप्पेलाई ५ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्न प्रस्ताव पनि गरेको थियो। तर, एम्बाप्पेले सम्झौता नवीकरण गर्न चाहेनन्।

एम्बाप्पेले केही समयदेखि रियल जाने चाहना देखाइरहेका छन्। यो सिजन नपाए पनि उनी अर्को सिजन रियल जाने योजनामा छन्। यस सिजनको अन्त्यसँगै एम्बाप्पेको पिएसजीसँगको सम्झौता सकिँदै छ। उनी अर्को सिजन फ्री एजेन्टका रुपमा भएपनि रियल गएरै छाड्ने मनस्थितिमा छन्। त्यसैले उनले सम्झौता नवीकरण गर्न नमानेका हुन्।

रियल पनि उनलाई क्लबमा ल्याउन निकै आतुर छ। रियलले उनलाई अनुबन्ध गर्न चाहेको धेरै भइसक्यो। एम्बाप्पे र पिएसजी दुवैले तत्काल सहकार्यमा बिट गर्ने संकेत दिँदा उसले आधिकारिक प्रस्ताव भने गरेको थिएन।

तर, एम्बाप्पेले पिएसजीसँग नयाँ सम्झौता गर्न नमानेपछि भने रियल निकै आशावादी भएको छ। त्यसैले उसले एम्बाप्पेलाई अनुबन्ध गर्न पहिलोपटक आधिकारिक प्रस्ताव राखेको हो। रियलले १६० मिलियन युरो (१८८ मिलियन डलर) को प्रस्ताव गरेसँगै अब बल पिएसजीको कोर्टमा पुगेको छ।

पिएसजी नचाहँदा नचाहँदै एम्बाप्पेलाई बेच्नुपर्ने अवस्थामा पुग्ने देखिन्छ। एम्बाप्पेले पछिल्लो समय फ्रान्समा बस्ने मन गर्न छाडेपछि पिएसजीलाई पनि दबाब परेको छ।

पिएसजीसँग अबको परिस्थितिमा दुईवटा विकल्प छन्:

  • रियलले गरेको १६० मिलियन युरोको प्रस्ताव स्वीकारेर ट्रान्सफर विन्डो नसकिँदै उनको विकल्प खोज्ने
  • रियलको अहिलेको १६० मिलियनको प्रस्ताव अस्वीकार गरेर अर्को सिजन फ्रीमा रियल जान दिने

जसकारण पिएसजी अहिले परिबन्धमा परेको छ। टिम सबैभन्दा उत्कृष्ट र बलियो भएको बेला नयाँ पुस्ताका सबैभन्दा कुशल खेलाडीलाई बेच्ने वा यो सिजन राखेर अर्को सिजन सित्तैमा गुमाउने! पिएसजी दोधारमा छ।

के गर्ला त पिएसजीले?, एम्बाप्पेको रियलबाट खेल्ने सानैदेखिको सपना पूरा होला त ?, कि उनले त्यसका लागि अझै एक सिजन पर्खिनुपर्ला ?