विश्व क्लब फुटबलको ‘महाभीडन्त’ अर्थात एल क्लासिकोमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड विजयी भएको छ। घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ले हरायो।
एल क्लासिको जितेसँगै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ३० खेलमा ३३ अंक जोडेको छ। २९ खेलमा ६६ अंक नै जोडेको एट्लेटिको मड्रिड हेड टु हेडमा पछि पर्दै दोस्रो स्थानमा छ । बार्सिलोना भने ६५ अंकसहित तेस्रो स्थानमा छ।
योसँगै रियलले लगातार तीन एल क्लासिको जितेको छ भने ४ खेल यता अपराजित छ। गतसिजनका दुई एल क्लासिको मध्ये पहिलो गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो रियलले २–०ले जितेको थियो । यस्तै यो सिजनको पहिलो एल क्लासिको रियलले ३–१ले जितेको थियो।
यता, बार्सिलोना कप्तान लियोन मेसी भने पछिल्ला ६ एल क्लासिकोमा फिका देखिएका छन् । एल क्लासिकोका सर्वाधिक गोलकर्ता मेसी ६ खेलयता गोल र असिस्ट गर्न असफल छन्।
एल क्लासिकोमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले गोल गरे। बेन्जामाले १३औं लुकास भास्क्वेसको क्रसमा ब्याकहिल गोल गरेका थिए । क्रुसले २८औं मिनेटमा गोल फ्रिककमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा रियलले बार्सिलोनामाथि निरन्तर दबाब बनाएको थियो । पहिलो हाफमै रिलयले अन्य दुई गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । काउन्टरमा फ्रेडे भाल्भार्डेको प्रहार पोस्टमा लागेर फर्कियो भने रिबाउन्टमा भास्क्वेसको प्रहार बार्सिलोनाका किपर टेर स्टेगनले बचाए।
दोस्रो हाफको सुरुमै बार्सिलोनाले एन्टोइन ग्रिजम्यानलाई मैदान छिरायो । सोपछि भने बार्सिलोनाले रियललाई दबाब दियो । ओस्कार मिगुएजाले ६०औं मिनेटमा गोल गर्दै बर्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, बार्सिलोनाको प्रयास असफल भयो।
खेलको अन्तिम क्षणमा बार्सिलोना राम्रो अवसर सिर्जना गरेको थियो। इलिक्स मोरिबाबो प्रहार क्रस बारमा लागेर फर्किएको थियो। भारी वर्षापछि भएको दोस्रो हाफमा पनि रियलले थुप्रै अवसर बनायो, तर त्यसलाई सदुपयोग गर्न सकेन ।
९०औं मिनेटमा रियलका कासेमिरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उनले एक मिनेट अन्तरमा २ पहेँलो कार्ड खाएका थिए।