घरेलु टोली वेस्टइन्डिजले आइतबार पहिलो टेस्टको चौथो दिन पाकिस्तानमाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको छ । चौथो दिन बिहान पाकिस्तान २ सय ३ रनमा समेटिएपछि वेस्टइन्डिजले १ सय ६८ रनको लक्ष्य पाएको थियो । त्यसलाई वेस्ट इन्डिजले नौ विकेट गुमाएर प्राप्त गरेको थियो ।
वेस्टइन्डिजका लागि जेरेमी ब्ल्याकउडले सर्वाधिक ५५ रन बनाउँदा केमर रोचले नटआउट रहेर ३० रन बनाउँदै टिमको जित निश्चित गरे । उनले अन्तिम विकेटका लागि जेडन सिल्ससँग महत्वपूर्ण १७ रनको साझेदारी गरे । पाकिस्तानका साहिन साह अफ्रिदीले ४ र हसन अलीले ३ विकेट लिए।
दोस्रो इनिङमा पाकिस्तान २०३ रनमै समेटिएपछि वेस्टइन्डिजले १६८ रनको सामान्य लक्ष्य पाएको थियो। उसका लागि कप्तान बाबर अजामले ५५, अविद अलीले ३४ र मोहम्मद रिजवानले ३४ रन मात्र बनाउन सके। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा सिल्सले घातक बलिङ गरे । उनले ५५ रनमा ५ विकेट लिए भने केमर रोचले ३ विकेट लिए।
यसअघि पहिलो इनिङमा पाकिस्तानले २१७ रन बनाएको थियो भने वेस्टइन्डिजले २५३ रन बनाएको थियो ।
योसँगै २ खेलको टेस्ट सिरिजमा वेस्टइन्डिजले १–०को अग्रता लिएको छ। दोस्रो टेस्ट २० अगस्तबाट सुरु हुनेछ।