तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको उपाधि आर्मीका मुकेशबहादुर पाल र पुलिसकी राजपुरा पछाईंले जितेका छन्।
रन क्लब नेपालद्वारा राजधानीमा आयोजित दौडको पुरुष खुलातर्फ मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र गजेन्द्र राई तेस्रो भए । सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड र गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड लगाए ।
महिलातर्फ राजपुराले १८ मिनेट १६.२ सेकेन्डबाट दौड जितिन् । पुलिसकी राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डबाट दोस्रो भइन् । तेस्रो स्थानकी आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट १७.०५ सेकेन्ड लगाइन् । पुरुष–महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाए ।
स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो र नवराज गुरुङ दोस्रो भए । छात्रामा सोनु घतानीले स्वर्ण, पूर्णिमा श्रेष्ठले रजत र जेशिका महर्जनले कांस्य जिते । छात्ररछात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार प्राप्त गरे।