लेवान्डोस्की बने बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी, अन्तिम खेलमा बायर्न विजयी

पोलिस स्ट्राइकर रोबर्ड लेवान्डोस्कीले बुन्डेस लिगामा अर्को कीर्तिमान बनाएका छन् । लिगको अन्तिम खेलमा अग्सवर्गविरुद्ध गोल गर्दै लेवान्डोस्की बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

यो सिजन उनले बायर्नका लागि बुन्डेसलिगामा ४१ गोल गरेका छन् । लेवान्डोस्कीले यो कीर्तिमान बनाउने क्रममा बायर्नका लिजेन्ट गर्ड मुलरको कीर्तिमान भंग गरे । मुलरले सन् १९७१र७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

बायर्नलाई अग्स्बर्गविरुद्ध ५–२ को जित दिलाउन लेवान्डोस्की, सेर्जी गनाब्री, जोसुवा किमिच र किंग्सले कोम्यानले एक गोल गरे। बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले एक गोल फर्काए।

नवौं मिनेटमा जेफ्रीले आत्मघाती गोल गरेपछि बायर्नले सुरुआती अग्रता लियो । २३ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

२५औं मिनेटमा अग्स्वर्गले अग्ता घटाउने अवसर गुमायो । उसका डानिअलको पेनाल्टी प्रहार बायर्नका गोलकिपर म्यानुअल नुएरले बचाए।

३३ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नको अग्रता ३–० को बनाए भने ४३औं मिनेटमा कोम्यानले गोल गरेपछि पहिलो हाफमा बायर्नले ४–०को अग्रता लियो ।

६७औं मिनेटमा अग्स्बर्गका आन्द्रेले गोल गर्दै खेल ४–१ मा ल्याए। ७२औं मिनेटमा फ्लोरिनले गोल गरेपछि खेल ४–२ को स्थितिमा पुग्यो। ९०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५–२ को जित दिलाए भने आफ्नो नाममा नयाँ कीर्तिमान पनि लेखाए।