जर्मन क्लब बायर्न म्युनिखले सिजनको दोस्रो उपाधि जितेको छ । शनिबार राति भएको फाइलनमा बायर लेभरकुसनमाथि ४–२को जित निकाल्दै बायर्नले सिजनको दोस्रो उपाधिका रुपमा जर्मन कप जितेको हो ।
बायर्नलाई २०औं जर्मन कप उपाधि दिलाने क्रममा रोबर्ट लेवान्डोस्कीले २ तथा डेभिड अलावा र सर्जी गनाब्रीले समान १ गोल गरे भने लेभरकुसनका स्भेन बेन्डर र काई हाभार्टले गोल गरेका थिए ।
ओलम्पिक स्टेडियममा १६औं मिनेट अलावाको गोलमा बायर्नले अग्रता लियो । २६औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल नहुँदा पहिलो हाफ २–०मै सकियो ।
५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । यो लेवान्डोसीको सिजनको ५०औं गोल थियो । ६३औं मिनेटमा लेभरकुसनका बेन्डरले गोल गर्दै खेललाई ३–१को अवस्थामा ल्याए । तर, ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४–१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टजले पेनाल्टीमा गोल फर्काए पनि टिमलाई उपाधि दिलाउन सकेनन् ।
यस जितपछि बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पुर्याएको छ । यस्तै सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित पनि हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।