°
, June 7, 2023 in

इन्डोनेसियामा रोहितको गोल, लिगमा पर्सिकको दोस्रो जित

SHARE:

नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य रोहित चन्दले इन्डोनेसियामा गोल गरेका छन्। लामो समयदेखि इन्डोनेसियन लिग खेलिरहेका रोहितले गोल गरेको खेलमा उनको टिम पर्सिक केडेरीले विजयी भएको छ।

बिहीबार भएको खेलमा रोहितको टिम पेर्सिकले भयंकरा एफसीमाथि ३–२को रोमाञ्चक जित निकाल्यो । लिगको पुछारमा रहेको पेर्सिकको यो दोस्रो जित हो। १८ खेलमा ७ बराबरी र २ जित निकलोको पेर्सिक १३ अंकसहित तालिकाको पुछारमा छ।

पेर्सिकको जितमा रोहितसँगै रेनाल सिल्भा र रियान्तो अवियोसोले गोल गरेका थिए भने भयंकराका टिटान अगुङ र सानी रिज्की पाउजीले गोल गरेका थिए।

खेलको आठौं मिनेटमा सिल्भाको पासमा गोल गर्दै रोहितले टिमलाई सुरुआती अग्रता दिलाएका थिए। पेर्सिकका लागि लिगमा रोहितको यो दोस्रो गोल हो। उनी यसै सिजन पेर्सिजा जाकर्ताबाट पेर्सिक आएका हुन्।

१४औं मिनेटमा सिल्भाले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। तर, दुई गोलले पछि परेको भयंकराले पहिलो हाफमै २ गोल गर्दै खेललाई बराबरीमा ल्यायो। उसका अगुङले ३०औं र पाउजीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।

बराबरीतर्फ उन्मूख खेलको ८१औं रियान्तोले गोल गर्दै पर्सिकलाई ३–२को रोमाञ्चक जित दिलाए।

SHARE: