कतार विश्वकप २०२२ पछि रोनाल्ड कोम्यानले नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बन्ने भएका छन्। विश्वकपपछि कोम्यानलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिइने रोयल डच फुटबल एसोसिएसनले जनाएको छ।
सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि कोम्यानले नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका थिए। उनले नै नेदरल्यान्ड्सलाई युरोकप २०२० मा छनोट गराएका थिए। उनकै प्रशिक्षणमा नेदरल्यान्ड्सले नेसन्स लिगको फाइनल पनि खेलेको थियो। तर, फाइनलमा नेदरल्यान्ड्स पोर्चुगलसँग १–० ले पराजित भएको थियो।
डच फुटबल एसोसिएसनले आगामी कतार विश्वकप २०२२ सम्म कोम्यानलाई प्रमुख प्रशिक्षकको रुपमा राख्न चाहन्थ्यो। तर, आफ्नै पूर्वक्लब बार्सिलोनाबाट मुख्य प्रशिक्षकको प्रस्ताव आएपछि कोम्यानल डच टिम छाडेका थिए । तर, खराब प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई यो सिजनको मध्यतिर बर्खास्त गरेको थियो।
प्रशिक्षण करिअरको २४ वर्षमा कोम्यानले ११ वटा क्लब र एउटा राष्ट्रिय टोलीको प्रशिक्षक एवं सहायक प्रशिक्षकको रुपमा काम गरे। यद्यपि, उनको प्रशिक्षक करिअर औषत नै रह्यो। डच राष्ट्रिय टोलीका साथै आयाक्स र फेयुनर्डबाहेकका अन्य टोलीमा उनले २ सिजन निरन्तरता दिन सकेनन्। इङ्लिस क्लब एभर्टनमा अपरिपक्व निर्णयका कारण बर्खास्तीमा परे।
कोम्यान्सले साढे एक वर्षअगाडि आफूले असन्तुष्ट भएर राष्ट्रिय टिमको जिम्मेवारी नछाडेको बताएका छन्। उनले फेरि फर्किन पाउँदा खुशी लागेको पनि बताएका छन्।
‘फेरि सँगै काम गर्नका लागि म उत्साहित छु। साढे एक वर्ष अगाडि पनि मैले असन्तुष्ट भएर राष्ट्रिय टिमको जिम्मेवारी छाडेको थिइनँ,’ कोम्यानले भनेका छन्, ‘नतिजा, खेलाडीसँगको सम्बन्ध राम्रो थियो। म पनि खुसी थिएँ। हामी फेरि त्यही यात्रालाई निरन्तरता दिनेछौं।’
विश्वकपपछि कोम्यानले लुइस भान हालको स्थान लिने छन्। भान हाले कतार विश्वकप २०२२ पछि प्रशिक्षक पदको जिम्मेवारी छाड्ने बताइसकेका छन्।