नजरबन्दबाट मुक्त भए रोनाल्डिन्हो

नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पराग्वेमा पक्राउ परेका ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो नजरबन्दबाट मुक्त भएका छन्।

फर्जी पासपोर्ट प्रकरणमा रोनाल्डिन्हो, उनका भाइ र अन्य चार जना पक्राउ परेका थिए। पछिल्लो समय उनीहरूलाई राजधानी असुन्सियनको एक सुविधासम्पन्न होटलमा नजरबन्दमा राखिएको थियो।

त्यसअघि उनीहरूले १ महिना जेल बिताउनुपरेको थियो। घटनामा जमानत पाएपछि उनीहरूलाई होटलमा नजरबन्दमा राखिएको थियो। रिहा भएका रोनाल्डिन्होले २ लाख अमेरिकी डलर जरिमाना भने तिर्नुपर्नेछ।

रोनाल्डिन्हो आफ्ना भाइ रोबेर्टो डि एसिस मोरेइरासँगै मार्चमा पाराग्वे प्रवेशका लागि फर्जी पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका रोनाल्डिन्होले माथि पराग्वेका अभियोजनकर्ताहरूले नक्कली पासपोर्ट लिन कुनै भूमिका नभएको भएपनि उनका भाइ नक्कली पासपोर्टका बारेमा जानकार रहेको मान्दै आएका थिए। घटनामा दुबैले आफ्नो निर्दोषता कायम राखेका छन्।

सन् २०१५ मा फुटबलबाट सन्यास लिएका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई पाँचौ पटक विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो क्लब फुटबल करियरमा बार्सिलोनाले च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए। उनले बार्सिलोनाका अलावा पेरिस सेन्ट जर्मेन र इन्टर मिलानबाट समेत फुटबल खेलेका थिए।